निर्णयको नाकाबन्दी

सन्दर्भ भारतद्वारा लादिएकाे नाकाबन्दीकाे

सवाल दुई चार महिनाको विद्यमान नाकाबन्दीको कदापी हुन सक्दैन । भोगाइमा रहेको सीमाबन्दी वास्तविक नाकाबन्दी होइन । मैले देशको इतिहासको पूर्ण पाठ पढेको छैन तथापी बुझाइमा रहेको धेरथोर ज्ञानको दुई चार अध्याय भोगेको छु ।

म जस्ता कैयन युवा उद्यमी साथीहरु, कैयन महत्वकांक्षा लिएर अध्ययन गर्नुभएका उर्जावान् भाइबहिनीहरु, अनुभवका थुप्रै दशक पार गर्नुभएका दाइदिदीहरु सबैलाई समर्पित गर्दै केही हरफहरु कोर्न बाध्य भएको छु ।

देशको मुहार फेर्ने सपना मैले नबोकेको होइन । राजनीति आफैमा गलत कहिल्यै हुन सक्दैन । हाम्रो राजनीति पनि गलत छैन । गलत छ त वर्तमान नेतृत्व । वर्तमान सत्तापक्ष र प्रतिपक्ष सबैको नेतृत्वमाथी औँला ठडिएका छन् ।

आजभन्दा १०० बर्ष अघि दक्षिण एसियाकै पहिलो उर्जा उत्पादनको सफल अभ्यास गरेको देशको उर्जासंकट सामान्य विषय होइन । जलश्रोत, प्राकृतिक सम्पन्नता सधैँ वरदान रहिरहनेछ, अभिशाप त नेतृत्व हो जसको हातमा त्यस्ता कैयन श्रोत उपयोग गर्ने जिम्मा सुम्पिएको थियो, यद्यपि उपयोग भन्दा हजारौँ गुणा बढी दुरुपयोग गरियो । व्यक्ति कहिल्यै राष्ट्र भन्दा ठूलो नहुन पर्ने हो तर विश्वास गरिएको व्यक्तिको झुन्डनै गलत पर्न गएपछि यहाँ कसैको केही नलाग्ने रहेछ। देश पटक पटक बेचिएको छ । नेपालको सम्पन्नता बेचिएको छ, सम्भावना बेचिएको छ, विकास बेचिएको छ अनि समय बेचिएको छ । फलस्वरुप हामी आज विश्व दौडमा निकै पछाडी धकेलिएका छौँ ।

भुकम्प हाम्रो लागि अभिशाप होइन । जोखिमको बारेमा सचेतनामा थुपै्र पर्चाहरु फेकिनु गलत होइन । यसो गर्दैँमा यस्ता पर्चाहरुले कमजोर पूर्वाधारहरु जोगाउन सक्दैन अन्तत यस्ता कैयन जीर्ण पर्खाल भित्र बस्न विवश जीवनहरु जोगाउन सक्दैन । विज्ञापन र आह्वानले कोही पिडितको घाउमा मह्लम लगाएको छैन । चिसोमा त्रिपाल मुनि बस्न बाध्य थुप्रै नेपाली तनहरुलाई खोक्रा नाराहरु – यो भन्दा नालायकी अरु केही हुन सक्दैन ।

बेरोजगारी र अशिक्षाको अब कुनै सम्बन्ध छैन । पढेर बेरोजगार भएकाको जमात बढ्दो छ । साक्षरता बढ्दो छ तैपनि रोजगारी सिर्जना हुन नसक्नु पछाडीको रहस्य अरु केही होइन, त्यस पछाडीको रहस्य पनि नाकाबन्दी नै होतर निर्णयको नाकाबन्दी 

हामी आफैँले आफ्नो निर्णय गर्न नसक्नु, आज सिर्जिएका हरेक नाकाबन्दीको कारण हो । सञ्चार माध्यममा छाइरहेको बहसको विषय भारतिय अघोषित नाकाबन्दी जत्तिको निर्लज्ज बहस अरु नहोला । दोष आम सञ्चारको पनि छ । नाकाबन्दी घोषित होस् या अघोषित भन्दा पनि कैयन प्रभावकारी विषयमाथि बहस र कार्यान्वयन आवश्यक छ ।

थुप्रै असन्तोषका हरफहरु कोरिन सक्छन्, म यत्तिमै कलम रोक्दैछु । हरेक क्षेत्रमा हामीले देखाएको अनिर्णित व्यवहार र परनिर्भरतानै नेपालको चलिआएको समस्या हो । देश दुई चार महिनादेखि भारतिय नाकाबन्दीको चपेटामा परेको होइन । यहाँ त दशकौँ देखि निर्णयको नाकाबन्दी भइरहेको अवस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *